काठमाडौं ।
माछापुच्छ्रे बैंकमार्फत कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने भएको छ । यसको लागि दुवै संस्थाहरूबीच पारिस्परिकरपमा सम्झौता भएपश्चात् सञ्चय कोषबाट कर्जा लिएका ग्राहकहरूले यस्तो सुविधा पाउने भएका हुुन् । यो सेवा सञ्चालनमा ल्याएपश्चात् कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुच्छ्रे पहिलो बैंक बनेको छ ।
यसअघि माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरूले लिएको ऋणको सावा तथा ब्याज कनेक्ट आइपीएसमार्फत भुक्तान गर्न सक्ने गरी सहमति भएको थियो र सोअनुरूप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिनेछ ।
बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ६० वटा शाखा, एक सय ३३ शाखारहित बैंकिङ सेवा समेत गरी दुुई सय ९३ स्थानमा रहेका सेवा सञ्जाल र एक सय ९८ वटा एटीएम काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेपा उपलब्ध गराउँदै आएको छ । बैैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब २५ करोड २० लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ४५ करोड ८४ लाख ७७ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ८६ करोड १८ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ३६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ९० करोड ८२ लाख ७८ हजार रुपैयाँ मात्र रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ८५ अर्ब १९ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब नौ करोड ५७ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ५४ करोड ९७ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव २७ प्रतिशत रहेको थियो ।