काठमाडौं ।
नेपाल चाइना चेम्बर अफ कमर्सले तातोपानी तथा केरुङ नाका पूर्णरूपमा सञ्चालनको लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ । नेपाल र चीनबीचको दुई मात्र व्यापारिक तातोपानी तथा केरुङ नाका लामो समयदेखि आंशिकरूपमा मात्रै सञ्चालन हुने र रोकिने अवस्थाबाट गुज्रिरहेको छ । उक्त नाका हालसम्म पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । व्यापारीहरूले विशेषगरी जाडो, गर्मीयाम तथा चाडवाड लक्षित गरी आयात गरिएका विविध सामानहरू ८–१० महिनादेखि नाकामा अलपत्र अवस्थामा रहेको नेपाल चाइना चेम्बर अफ कमर्सका महासचिव विनोद पौडेलले जानकारी दिए । उनका अनुसार कतिपय खाद्य सामग्री तथा फलफूलहरू विग्रिएको र म्याद सकिने अवस्थामा पुगीसकेको छ ।
नाका सुचारु नभएमा कारण व्यापारी व्यवसायीहरू टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवं विचलन भई आन्दोलित हुने अवस्थामा पुगेको पौडेलले बताए । नेपाल चाइना चेम्बरले बिहीबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ बजारबाट माल सामानहरू समयमा नेपाल ल्याई बिक्री वितरण गर्न नसकेमा व्यवसाय नै धारासायी भई पलायन हुनुपर्ने अवस्था हुने जनाएको छ ।
लामो समयदेखि हजारौँ ट्रक मालसामानहरू नाकामा अलपत्र अवस्थामा रहेको र नाका सुचारु हुने अवस्था नदेखिएको हुँदा व्यापारीहरूले दुई देशबीच सडकमार्गबाट हुने व्यापारप्रति नकारात्मक टिप्पणी गर्न थालेका छन् । दुई देशबीच विद्यमान सदियौं पुरानो सुमधुर व्यापारिक सम्बन्धप्रति नकारात्मक टिप्पणी तथा आन्दोलित हुने वातावरण कदापि आउन दिन नहुने नेपाल चाइना चेम्बरको भनाइ छ ।
दशैंअगाडि नै नाका पूर्णरूपमा सुचारु हुने भनिए पनि चीनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरको छ । भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिए पनि चीनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना आउने गरेको छैन । यस अन्यौलको अवस्थालाई निरन्तरता दिनु दुई देशको हितमा कदापि नहुने र मुलुकको राजस्व संकलनमा समेत कमी हुनेहुँदा यस समस्याको समाधानका लागि विशेष पहल गरी धेरैभन्दा धेरै गाडीहरू नेपाल ल्याउने वातावरण बनाउनु जरुरी रहेको नेपाल चाइना चेम्बरले बताएको छ । यसका लागि द्विपक्षीय वार्तामार्फत समस्याको स्थायी समाधान गर्न नेपाल चाइना चेम्बरले सरकारसँग आग्रह गरेको छ ।