काठमाडौं ।
हंगेरिका विदेश तथा वाणिज्यमन्त्री पिटर सिजारतो तीन सदस्यीय प्रतिनिधि मण्डलका सदस्यसहित चार्टर्ड फ्लाइटबाट बुधबार साँझ सुटुक्क नेपाल आएका छन् । उनको यो भ्रमण घोषणा नगरिएको अनौपचारिक भ्रमण हो ।
एसिया भ्रमणको दौडान थाइल्यान्डमा आएका उनी बुधबार नेपाल आएका हुन् तर उनी किन नेपाल आएका हुन् भन्नेचाहिँ खुल्नसकेको छैन । थाइल्यान्डमा बुधबार उनको कोरोना परीक्षण पोजिटिभ देखिएको भए पनि उनी सुटुक्क नेपाल आएका हुन् । उनको एसिया भ्रमणबारे हंगेरीको अनलाइन न्युजपोर्टल हंगेरी टुडेले पनि पुष्टि गरेको छ । उक्त समाचार पोर्टलले थाइल्यान्डमै उनलाई कोरोना पोजिटिभ भएको जनाएको छ ।
भारतीय स्थल सेनापति मनोज मुकुन्द नरवणे नेपाल आएको केही घण्टापछि हंगेरिका विदेशमन्त्री सिजारतो नेपाल आइपुगेका हुन् । पूर्वसाम्यवादी मुलुक हंगेरीको वामपन्थी सरकारका विदेशमन्त्री सिजारतो नेपालको वामपन्थी सरकारसँग भाइचारा जनाउन र अमेरिका तथा भारतीय गठबन्धनमा नरहन दबाब दिन नेपाल आएका हुनसक्ने बताइएको छ । उनले नेपाल कम्युनिस्ट पार्टीका केही प्रभावशाली नेतासँग पनि भेटवार्ता गरेको स्रोतले जनाएको छ ।