सोलुखुम्बु ।
कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गरेका छन् । राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा ६ हजार ८ सय १२ मिटर उचाइको अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रबन्धनिर्देशक ईश्वरी पौडेलले जानकारी दिए ।
विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली कात्तिक १० गते दशैँको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । टोलीले हिमाल आरोण सफल रुपमा सम्पन्न गरेको पौडेलको भनाइ छ । यो आरोहण टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना सहभागी थिए । हिमाल आरोहणको मुख्य सिजनमा समेत कोरोनाका कारण पर्यटक नआएको यो समयमा विदेशी विशिष्ट व्यक्तिहरुको आगमनले पर्यटन क्षेत्रलाई थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
कोरोना महामारीका कारण यो हिमाल आरोहणको मुख्य सिजनमा समेत सुनसान बनेको थियो । यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले असोज १७ गते सोलुखुम्बुमा रहेको छ हजार एक सय १९ मिटर अग्लो लोबुचे हिमालको आरोहण गरेको थियो । सो टोलीले असोज २९ गते गोरखामा रहेको आठ हजार एक सय ५६ मिटर अग्लो मनास्लु हिमालको पनि आरोहण गरेको थियो ।