वासिङटन ।
‘चिनियाँ जनमुक्ति सेनाले समर्थन गरेका’ थप चार चिनियाँ कम्पनीलाई अमेरिकाले पेन्टागनको कालोसूचीमा राख्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प प्रशासनले सत्ता छाड्नुअघि चीनविरुद्ध थप कडा नीति अख्तियार गर्दै उनीहरुको अमेरिकी लगानीकर्तासँगको पहुँचसम्म पुग्न नदिने गरी कदम चाल्न लागेको हो ।
चार कम्पनीलाई कस्तो आरोप लगाउन लागिएको भन्ने विस्तृत खुलासा भने डिपार्टमेन्ट अफ डिफेन्सले आगामी शुक्रबारसम्म खुलाउने स्रोतलाई उद्धृत गरी रोयटर्सले समाचारमा जनााएको छ । तर ह्वाइटहाउस र चिनियाँ राजदूतावासले भने यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । कालोसूचीमा पर्ने थपसँगै चिनियाँ कम्पनीको संख्या ३५ पुग्नेछ । यसमा परेका हिकभिजन ००२४१५.एसजेट, चाइना टेलिकम कर्प ०७२८.एचके र चाइना मोबाइल ०९४१.एचके यो वर्षको सुरुतिरै कालोसूचीमा सूचीकृत भएका थिए ।
अमेरिकाले ‘कम्युनिस्ट चाइनिज मिलिटरी कम्पनिज’को आरोपमा सन् १९९९ को कानुनअनुसार उक्त सूचीमा चिनियाँ कम्पनीलाई सूचीकृत गरेको हो । केही दिनअघि मात्र अमेरिकाले चिनियाँ कम्पनीहरुलाई अमेरिकी लगानीकर्तासँग पहुँच रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरेका थिए । जुनअनुसार अमेरिकी लगानीकर्ताले कालोसूचीमा परेका चिनियाँ कम्पनीबाट सन् २०२१ नोभेम्बरदेखि खरिद गर्न पाउनेछैनन् ।
रिपब्लिकन सांसदहरुले अमेरिकी पुँजीबजारबाट चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउन माग गर्दै आएका छन् । कालोसूचीमा राखे पनि चिनियाँ कम्पनीलाई धेरै नोक्सानी नपर्ने बताइएको छ । जनवरी २० देखि नयाँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जोय बाइडेन आउँदै गर्दा यो कार्यकारी आदेश र नयाँ राष्ट्रपतिले चीनसँग अख्तियार गर्ने नयाँ विदेश नीतिले पनि फरक पार्न सक्नेछ । तर पछिल्लो अमेरिकी कदमले बिग्रिरहेको अमेरिका–चीन सम्बन्धलाई थप खलल पु-याउने अपेक्षा गरिएको छ ।