काठमाडौं ।
नेपालमा रहेका महिला सरकारी वकिलहरूको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालयले चालू आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता बिहीबार दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु गरेको हो ।
उक्त सम्मेलनको भर्चुअल माध्यमबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गरेका थिए । कार्यक्रममा महान्यायाधिवक्ता खरेलले भौतिक उपस्थितिमा नै सम्मेलनको आयोजना गर्ने गरी तयारी गरिएकोमा कोभिड १९ को महामारीका कारण अनलाइनमार्फत नै यस प्रकारको राष्ट्रिय कार्यशालाको आयोजना गर्न लागिएको जानकारी गराए ।
यस्तै उनले हाल नेपालमा एक जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकिलहरू कार्यरत रहेकोमा जम्मा दुई जना मात्र महिला सरकारी वकिलहरू ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको बताए । यस प्रकारको कार्यशालाले महिला सरकारी वकिलहरूको नेतृत्व क्षमता विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । उद्घाटन समारोहमा नायब महान्यायाधिवक्ताहरू, सहन्यायाधिवक्ताहरूलगायत ८० जनाको उपस्थिति रहेको थियो ।
दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकिलहरूको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसुरलगायतका विषयमा छलफल हुनेछ । उक्त राष्ट्रिय कार्यशालामा ७० जना महिला सरकारी वकिलहरूको सहभागिता रहेको छ । कार्यशाला शुक्रबार निष्कर्षहरू जारी गर्दै समापन हुने बताइएको छ ।