आशिष बहादुर सिंह
बझाड. ।
तत्कालीन जिल्ला विकास समितिको एक्स्काभेटर केही वर्षदेखि भोपुर आर्मी ब्यारेकमा थन्किएको छ । आर्थिक वर्ष २०७२/०७३ सालमा तत्कालीन जिल्ला विकास समितिले उक्त एक्स्काभेटर एक करोड ४० लाखको लागतमा खरिद गरेको थियो । खरिद गरेको केही वर्ष सडक कटान तथा अन्य कामहरुमा प्रयोग भएको एक्स्काभेटर केही वर्षदेखि बिग्रिएर ब्यारेकमा थन्किएको छ । तत्कालीन बझाङका ४७ वटा गाविसका एक/एक लाखको दरले ४७ लाख र बाँकी जिल्ला विकास समितिले गरि उक्त मेसिन खरिद गरेको थियो ।
उक्त समयमा बझाङमा कहीँकतै पनि सडक निर्माणका कार्य तथा बाटोघाटो निर्माणका काममा एक्स्काभेटर लगाउने गरिएको थिएन । सडक निर्माण तथा अन्य कामहरु गर्न महँगोमा भाडा तिरेर निजी एक्स्काभेटरबाट काम गराउनुपर्ने बाध्यता हुँदा समितिले एक्स्काभेटर खरिद गरेको थियो । केही समय गाविस तथा सरकारि कार्यालयहरुको जग खन्ने काम, सडक निर्माणलगायतका काममा प्रयोग भए पनि विगत केही वर्षदेखि बिग्रेर भोपुर आर्मी ब्यारेकमा राखिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खड्काले भने, ‘तत्कालीन गाविस तथा जिविसको सर्वदलीय संयन्त्रको पालामा उक्त मेसिन खरिद भएको हो । हाल समन्वय समितिमा उक्त मेसिन मर्मतको लागि रकम छैन । गाउँपालिका तथा नगरपालिकाहरुलाई एक्स्काभेटर खरिद गर्दा, नयाँ मेसिन खरिद गर्नुभन्दा सोही मेसिनलाई मर्मत गरी सञ्चालन गर्न आफूले सबै स्थानीय तहहरुका प्रमुखहरुलाई सुझाएको भए पनि कुनै प्रतिक्रिया आएको छैन ।’
स्थानीय तहमा मेसिन किन्ने होडबाजी चलेको भए पनि कुनै पनि पालिकाले उक्त एक्स्काभेटरलाई मर्मत गर्ने चासो नदेखाएको खड्काले बताए । ब्यारेकमा राखिएको उक्त मेसिनको खिया लागेर सबै पार्ट पुर्जाहरु पुनः मर्मत गर्नुपर्ने भएको छ । थन्किएर बसेको सरकारी एक्स्काभेटर हुँदाहुँदै गाउँपालिका तथा नगरपालिकाले निजी एक्स्काभेटरलाई प्राथमिकता दिँदै आएका छन् । सरकारी सामानहरु यसरी नै खरिद गर्दै हेरचाह तथा संरक्षण नगर्ने हो भने राज्यको लगानी डुब्ने नागरिक समाजका अगुवा धर्मजङबहादुर सिंहले बताए ।