काठमाडौं ।
अर्थ मन्त्रालयले पुराना आयोजना सम्पन्न गर्न उच्च प्राथमिकता दिँदै त्यहीअनुसार कार्यक्रम अगाडि बढाउने भएको छ । पुराना आयोजना अलपत्र भएको अवस्थामा नयाँ कार्यक्रम तथा आयोजना छनोट गर्ने प्रवृत्ति बढिरहेको बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुराना आयोजना सम्पन्न गर्नका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा अर्थमन्त्री पौडेलले पुराना कार्यक्रम तथा योजनाको कतिपयको सम्पन्न हुने म्याद सकिएको र कतिपयको बाँकी रहेको कारण म्याद सकिएकाहरुको पनि थपिएको म्यादभित्रै काम सम्पन्न गर्ने गरी विभिन्न मन्त्रालयसँग समन्वय गर्न अर्थका अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
विभिन्न मन्त्रालयले पुराना कार्यक्रम तथा आयोजनालाई अलपत्र छाड्दै नयाँ कार्यक्रम तथा आयोजनालाई मात्र अगाडि बढाउने काम गरेका छन् । त्यसरी पुराना आयोजना तथा कार्यक्रम अलपत्र छाड्दा सरकारले लगानी गरेको अर्बौँ रुपैयाँ खेर जाने भएकाले अर्थमन्त्री पौडेलले जसरी पनि पुराना आयोजना तथा कार्यक्रमलाई एउटा निश्चित तोकिएको मितिमै सक्ने गरी समन्वय गर्न निर्देशन दिएका हुन् ।
विभिन्न मन्त्रालयले विकास आयोजनाहरु अलपत्र छाड्दै नयाँमा मात्र कार्यान्वयनमा जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पहिला केन्द्र सरकारबाट कार्यान्वयन भइरहेका सडक योजनाहरु अहिले प्रदेश सरकारमातहत गएका छन् । प्रदेशमातहत गएका सडकहरुलाई प्रदेश सरकारले कार्यान्वयन गर्नेभन्दा पनि आलटाल गरेर पन्छाउने काम गरिरहेका छन् । त्यसको गुनासो अर्थमन्त्री पौडेलसम्म पुगेको छ । सोही कारण अर्थमन्त्री पौडेलले राज्यले पहिला लगानी गरेका आयोजना तथा कार्यक्रमलाई सम्पन्न गर्नेतर्फ नलाग्ने हो भने राज्यको रकम खेर जाने भन्दै जसरी पनि सक्न निर्देशन दिएका हुन् ।
सरकार परिवर्तन र नयाँ मन्त्रीको आवागमनसँगै देशमा पुराना योजना तथा कार्यक्रमलाई अलपत्र छाड्दै नयाँलाई मात्र प्राथमिकता दिने नेपालको पुरानो चलन नै बनिसकेको छ । यसले राज्यको अर्बौं रुपैयाँ लगानी खेर जाने गरेको छ । अर्थमन्त्री पौडेलको निर्देशनअनुसार अर्थका अधिकारीहरुले अन्य मन्त्रालयसँग समन्वयन गर्ने हो भने सरकारले विगतमा गरिसकेको लगानीबाट राज्यले प्रतिफल पाउनेछन् भने सर्वसाधारणले पनि लाभ लिनसक्ने देखिन्छ ।
समिति बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका थिए । अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित तुल्याउने समयमै बेरुजु फर्स्यौट गर्ने, लक्ष्यअनुरुप बजेट कार्यान्वयन गर्ने र कार्यसम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी चालू आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका थिए । अर्थमन्त्री पौडेलले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा पनि जोड दिएका थिए ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्थता, विकास सहायता परिचालन, शोधभर्नाको अवस्था, बेरुजु फर्स्यौटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुति गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।