काठमाडौं ।
समृद्धि स्कूल÷कलेजले अन्तर्राष्ट्रियस्तरको ‘समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी’ स्थापना गरेको छ । सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं बिजनेस क्याम्पसअन्तर्गत अध्यापन गराईने बीसीए र बीबीएस कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले ‘समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी’ स्थापना गरेको हो । बजारको आवश्यकताअनुरूप सूचना प्रविधि क्षेत्रमा एक्काईसौँ शताब्दीको दक्ष जनशक्ति निर्माण गरी यस क्षेत्रमा योगदान गर्ने उद्देश्य यस एकेडेमीले राखेको छ ।
समृद्धि स्कूल÷कलेजका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा उद्घाटित उक्त समारोहमा कलेजका सीईओ/प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठले कोभिड १९ को बाबजुद पनि विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि अध्ययनरत आफ्ना विद्यार्थीहरुको उद्यमशीलता तथा रोजगारमूलक सीप प्रवद्र्धन गर्नको लागि यस एकेडेमीले निकै महत्व पूर्ण सहयोग पु-याउने बताए । त्यसैगरी कार्यक्रममा पूर्ववातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले अबको पुस्ताले समयसापेक्ष शिक्षा हासिल गरी सरकारी कामलाई इ–गभर्नमेन्ट तथा पार्लियामेन्टलाई पनि इ–पार्लियामेन्ट बनाई आईटी युजर बढाउनुपर्ने बताए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले यस कार्यक्रमले शिक्षाजगत्मा नै नयाँ आयाम थपेको बताए । श्रीलंकाबाट अनलाइनबाट जोडिएकी सिस्को नेटवर्क एकेडेमी सार्ककी क्षेत्रीय मेनेजर कालाहरि कलुरार्चीले नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सिस्को नेटवर्क एकेडेमीले यथासम्भव सहयोग गर्ने तथा सिस्कोद्वारा सूचना प्रविधि क्षेत्रमा प्रदान गरिने विश्वस्तरीय तालिमबाट विद्यार्थीहरुको सीप र व्यक्तित्व विकासमा सहयोग पु-याई प्रमाणपत्रमा मात्र केन्द्रित नभएर जीवनको जटिल अवस्थाको सामना गर्नसक्ने बनाउन यस एकेडेमीले सहयोग पु-याउने बताइन् ।