वासिङटन ।
बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवालाई पुनः सञ्चालनमा ल्याएको छ । अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकी राज्य टेक्सासको डल्लासबाट सञ्चारकर्मीहरूसहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गरेको थियो ।
अमेरिकी संघीय उड्डयन प्रशासनले गत महिना बोइङको चौँथो पुस्ताको विमान बोइङ ७३७ म्याक्सलाई व्यवसायिक उडानका लागि मार्ग प्रशस्त गरेको थियो । इन्डोनेसिया १८९ र इथियोपियामा १ सय ५७ गरी ३ सय ४६ यात्रुसहित दुर्घटनाग्रस्त भएको म्याक्सले सन् २०१९ को मार्चदेखि आफ्ना विश्वभर रहेका विमानको सेवालाई रोकेको थियो । त्यसयता बोइङले अर्बौँ डलर घाटा व्यहोर्दै आएको छ । उडान रोकिएसँगै सर्वाधिक माग भएको यो मोडलको विमानले नयाँ माग समेत रद्द गर्न बाध्य हुँदा कम्पनीले थप नोक्सानी व्यहोर्दै आएको छ ।