काठमाडौं, पुस १७
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको सभापतित्वममा बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्तूपा र यस वरपर रहेका मौलिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका ऐतिहासिक धरोहर, सम्पदा र संस्कृतिहरुको संरक्षण, सम्बर्धन र प्रबर्धन गरी आन्तरिक तथा बाह्य् पर्यटकहरुलाई आकर्षित गर्न प्रभावकारी सुरक्षा व्यवस्थापनमा सामुदायिक सहभागिता अभिवृद्धिका लागि काठमाडौं महानगरपलिका १५ समितिद्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले कार्यक्रमबारेमा चर्चा गर्दै यसको माध्यमबाट काठमाडौं महानगर सहयोगापेक्षी मुक्त बनाउन सबै पक्ष संयुक्त रुपमा लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय–प्रहरी सझेदारीअन्तर्गतको यस कार्यक्रमको माध्यमबाट समुदायमा प्रहरी र नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । समुदायमा हुने विभिन्न किसिमका अपराधहरूको रोकथामको लागि प्रहरी सदैव जनतामा समर्पित रहेको चर्चा गर्दै कार्यक्रमको माध्यमबाट नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन अझै तत्पर भई लाग्न प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।
प्रदेश नम्बर ३ का सांसद जीवनराम श्रेष्ठले समुदाय–प्रहरी साझेदारीको माध्यमबाट नै जनतामा चेतना अभिवृद्धि गर्न सकिने र आगामी दिनमा यस्ता कार्यक्रमको माध्यमबाट सामाजमा हुन सक्ने अपराधको रोकथाम गर्न प्रहरी र जनता संयुक्त रुपमा लाग्नुपर्ने बताए । काठमाडौं महानगरपालिका १५ नम्बर वडा कार्यालयका प्रमुख ईश्वरमान डंगोलले कार्यक्रमबारे जानकारी दिएको उक्त कार्यक्रममा सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु लगायत स्थानीय व्यक्तिहरू, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पुस २२ गतेसम्म संचालनमा रहने महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।