काठमाडौं ।
लकडाउन खुलेसँग नयाँ राहदानी र राहदानीसम्बन्धी काम लिएर आउने सर्वसाधारणको संख्या बढेको राहदानी विभागले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारी, अध्ययन, भ्रमण लगायतका लागि नयाँ राहदानी लिने सर्वसाधारणको संख्या बढेको हो । विभागका प्रवक्ता राजेन्द्र पाण्डेले विभिन्न प्रयोजनको लागि राहदानी नवीकरण गर्न, नयाँ बनाउन तथा हराएको वा बिग्रिएर बनाउने आउने सर्वसाधारणहरूको बढेको बताए । ‘विशेष गरी वैदेशिक रोजगारी तथा अध्ययन प्रयोजनको लागि धेरै नागरिकहरूले राहदानी लिने गरेका छन्’, उनले भने, ‘यसबाहेक व्यवसाय तथा भ्रमण, भेटघाटका लागि समेत राहदानी लिने गरेका छन् ।’
यस वर्ष अर्थात् जनवरीको सुरुदेखि नोभेम्बर अन्तिमसम्म करिब २ लाख नागरिकले राहदानी लिएको बताउँदै उनले भने, ‘सबैभन्दा धेरै नयाँ राहदानी लिने सर्वसाधारण छन् ।’ उनका अनुसार नवीकरण गर्ने, बिग्रिएको बनाउने वा यात्रा अनुमतिपत्र लिनेभन्दा सबैभन्दा बढी संख्यामा नयाँ रहादानी लिनेहरू छन् । प्रवक्ता पाण्डेले जिल्ला, विदेशीस्थित नियोग, राहदानी विभागबाट राहदानी वितरण हुन्छ । राहदानी वितरण कार्य विभागका अतिरिक्त ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा १९ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट पासपोर्ट वितरण गरिँदै आएको छ ।
नोभेम्बरसम्ममा सर्वसाधारणहरूले विभाग, जिल्ला र नियोगबाट गरी एक लाख ६३ हजार २ सय ४५ वटा नयाँ राहदानी लिएका छन् । यसमध्ये विभागबाट ३८ हजार ७ सय ५७ वटा, जिल्लाबाट एक लाख तीन हजार तीन सय २१ वटा र विदेशीस्थित नेपाली नियोगबाट दुई हजार चार सय ८३ वटा वितरण गरिएको छ । यस्तै सोही समयमा तीनवटै निकायबाट ३७ हजार ६ सय ६४ वटा राहदानी नवीकरण गरिएको छ। यसमध्ये विभागबाट १२ हजार ७ सय ८० वटा, जिल्लाबाट नौ हजार सात सय ३५ वटा र विदेशीस्थित नेपाली नियोगबाट १५ हजार १ सय ४९ वटा राहदानी नवीकरण गरिएको छ भने १८ हजार ६ सय ८४ वटा बिग्रिएर पुनः बनाइएको छ । यसमध्ये विभागबाट आठ हजार नौ सय २६ वटा, जिल्लाबाट सात हजार ५९ वटा र विदेशीस्थित नेपाली नियोगबाट दुई हजार छ सय ९९ वटा बिग्रिएको राहदानी पुनः बनाई वितरण गरिएको छ ।
विभागले सोही समयमा कूटनीतिक, अफिसियल, साधारण र यात्रा अनुमतिपत्र गरी दुई लाखभन्दा बढी राहदानी वितरण गरेको जनाएको छ । विभागका अनुसार जनवरी सुरुदेखि नोभेम्बर अन्तिमसम्ममा २ सय ८३ वटा कूटनीतिक, ६ सय २७ वटा अफिसियल र १ लाख ९९ हजार ९ सय ५६ वटा साधारण र ४३ वटा यात्रा अनुमतिपत्र गरी कुल २ लाख ९ सय ९ वटा राहदानी वितरण गरिएको छ ।
कोभिड १९ महामारीका कारण राहदानी वितरणमा कमी आए पनि हाल बन्दाबन्दी हट्नु तथा अन्तर्राष्ट्रिय उडान खुल्ला हुनुले गर्दा राहदानी बनाउने सर्वसाधारणको संख्या बढ्नपुगेको हो । वैदेशिक रोजगारी, अध्ययन र व्यवसायका साथै विभिन्न प्रयोजनमा नेपालीहरू विदेश जाने गरेका छन् । वैदेशिक रोजगार विभागले मासिक हजारौं युवाहरू विदेश जाने गरेको हुँदा उनीहरूले राहदानी लिने गरेको बताएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा करिब २० हजार जना युवाले श्रम स्वीकृति लिएका छन् ।