विराटनगर ।
ग्रील तथा स्टील व्यवसायी संघ मोरङको नेतृत्वले संस्थागत गर्नुपर्ने कारोबार व्यक्तिगत खाताबाट सञ्चालन गरी संस्थाभित्रै अनियमितता गर्ने गरेको पाइएको छ । ग्रील तथा स्टील व्यवसायी संस्थालाई वैधानिक ढंगले दर्ता गरी संस्थाकै नामबाट खाता सञ्चालन गर्न संघका सदस्यहरूले बारम्बार संघका अध्यक्ष विनोद ढकाललाई अनुरोध गर्दा समेत ढकालले संस्थाको नाममा बैंक खाता खोल्न रुचि नदेखाएपछि सदस्यहरूले ढकालको भ्रष्ट क्रियाकलापको भण्डाफोर अभियान नै चलाउनुपरेको बताएका छन् ।
ग्रील तथा स्टील व्यवसायी संस्थाको नामबाट गरिने कारोबारमा अध्यक्ष ढकालले के–कति कारोबार गरेका छन् भन्ने अन्यौल बढेर विवाद भएको बताइएको छ । अध्यक्ष ढकालविरुद्ध व्यापक आर्थिक विवाद भएपछि पछिल्लो केही वर्षदेखि ग्रील तथा स्टील व्यवसायी संस्थाको सबै कारोबार संघका जिल्ला अध्यक्ष विनोद ढकाल र कोषाध्यक्ष विरेनकुमार राजवंशीको सयुक्तनाममा खोलिएको बैंक खाताबाट हुँदै आएको बताइन्छ ।
अहिले आएर अध्यक्ष ढकाल र कोषाध्यक्ष राजवंशीको नाममा सञ्चालित सो खातालाई पनि यथाशीघ्र बन्द गरी ग्रील तथा स्टील व्यवसायी संघको नाममा खाता सञ्चालन गर्नुपर्ने माग संघमा आबद्ध भएका सदस्यले उठाइरहँदा समेत संघका अध्यक्ष ढकालले अटेरी गर्दै आएपछि ग्रील तथा स्टील व्यवसायी संस्थाका नामबाट हुने सबै कारोबारको जवाफदेही संघका अध्यक्ष ढकालले नै व्यहोर्नुपर्ने भन्दै सदस्यहरूका बीचमा आरोप प्रत्यारोप चल्न थालेको छ । ढकाल नेतृत्वको समितिले ग्रील तथा स्टील व्यवसायी संस्थाको ब्यानरबाट पैसा उठाउने र व्यक्तिगत खातामा डिपोजिट गरी आफूखुशी संस्थाको रकम खर्च गर्नेगरेको आरोप संघका सदस्यहरूले अध्यक्ष ढकालमाथि लगाएको छ ।
अध्यक्ष र कोषाध्यक्षले संस्थाको ब्यानरबाट पैसा उठाएर आफ्नो व्यक्तिगत खातामा जम्मा गर्ने र त्यहीँबाट संस्थाको खर्च व्यहोर्ने भन्दै संस्थाको हिसाब समेत अध्यक्ष ढकालले अहिलेसम्म सार्वजनिक नगरेको आरोप अध्यक्ष ढकाललाई लगाइएको छ । एक सदस्यले भने, ‘कसैको व्यक्तिगत खातामा कति पैसा छ ? कसरी खर्च गर्नुभयो भनेर सदस्यहरूले सोध्न समेत अप्ठ्यारो हुन्छ ।
कसैको व्यक्तिगत खाताका सम्बन्धमा सोध्न पनि नैतिकताले दिँदैन ।’ संस्थाको नाममा खाता खोलिदिएको भए हिसाबकिताब माग्न र बुझन मिल्ने थियो भन्दै ती सदस्यले भने, ‘अहिले मोरङको ग्रील तथा स्टील व्यवसायी संस्था नै अध्यक्ष ढकालको गोजीमा सीमित रहेको गुनासो सार्वजनिक भएको छ ।’ संस्थागत खाता नभएको कारण संस्थागत पैसा हिनामिना गर्न सजिलो भइरहेकाले ढकाल नेतृत्वले संस्थागत बैंकखाता खोल्नतर्फ चासो नदेखाएको स्रोत बताउँछ ।