जनकपुरधाम, पुस १८
भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रह्लादसिंह पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाममा घोषणा गरेको एक अर्ब रूपैयाँ सहयोगको लागि नेपाल सरकारले भारतलाई लिखित प्रस्ताव पठाउन आग्रह गरेका छन् । जानकी मन्दिरमा पूजा गर्न आएका मन्त्री पटेलले जनकपुरधामको विकासका लागि जनकपुरधाम आएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब दिने गरेको घोषणा गरेको स्मरण गराउँदै त्यसका लागि प्रपोजल पठाउन आग्रह गरेका हुन् ।
मन्त्री पटेलले नेपाल र भारतको रामायणकालीन धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको जिकीर गरे । जानकी मन्दिर दर्शनपछि स्थानीय पत्रकारजरूसँग संक्षिप्त कुरा गर्दै पटेलले भने, ‘म मेरो परिवारका साथ जनकपुरको पावन भूमिमा आएर माता जानकीको दर्शन गरे मलाई धेरै खुशी लागेको छ ।’ भिजिट नेपाल २०२० को अवसरमा काठमाडौँ आएका पटेलले बिहीबार सपरिवार जनकपुरधामको दर्शन गरेका हुन् । मन्त्री पटेललाई प्रदेश सरकारले एक कार्यक्रमको आयोजना गर्दै स्वागत समेत गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्बिर र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।