काठमाडौं ।
प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्री ओलीले केही नयाँ अनुहार ल्याएका छन् भने केहीको मन्त्रालय परिवर्तन गरेका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु प्रचण्ड–माधव नेपाल समूहबाट आएकालाई बनाएका छन् भने केही भने पहिलादेखि नै आफूलाई समर्थन गर्नेलाई मन्त्री बनाएका हुन् ।
पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो । थप भएका नयाँ मन्त्रीमा सिँचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, सहरी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, वन तथा वातावरणमा प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिलामा गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा गौरीशङ्कर चौधरी, युवा तथा खेलकुदमा दावा लामा र उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा रहेका छन् ।
नयाँ जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा भानुभक्त ढकाल, कृषि तथा पशुपक्षीमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा डा शिवमाया तुम्बाहाङ्फे र न्याय, कानुन तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ छन् ।