पेरिस ।
युरोपेली युनियनमा आबद्ध मुलुकहरूमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरेको छ । युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ । फाइजर–बायोएनटेकले विकास गरेको खोप कोभिड–१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरूको हेरचाहमा खटिने व्यक्तिहरूलाई दिइने जनाइएको छ ।
कोरोनाभाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ । गत वर्ष चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर हालसम्म १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेससले कोभिड–१९ महामारीबाट नयाँ पाठ सिक्नुपर्नेमा जोड दिएका छन् ।
महामारी पूर्वतयारीसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै टेड्रोसले मानिस र पशुपक्षीबीचको नाजूक सम्बन्धका बारेमा मानव समुदायले बढी सचेतता अपनाउनुपर्ने तथा जलवायु परिवर्तनका खतराका कारण मानवका लागि पृथ्वी बस्नयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड–१९ विरुद्धको खोप दिइएको छ । जर्मनीका स्वास्थ्य मन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रुपमा हेरिएको बताए । हंगेरी र स्लोभाकियामा पनि खोप दिन थालिएको छ ।
हाल रुस, चीन, बेलायत, क्यानाडा, संयुक्तराज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभियान सुरु भइसकेका छन् । इटालीका विदेश मन्त्री लुइगी डि मायोले आमजनतालाई कोभिड–१९ को खोप लिन आह्वान गरेका छन् । तर जनमत सर्वेक्षणमा करिब ५७ प्रतिशत जनताले मात्र खोप लिन चाहेको देखाइएको छ । वैज्ञानिकहरूले ७५ देखि ८० प्रतिशतले खोप लगाए मात्र हर्ड इम्युनिटी विकास हुने अनुमान गरेका छन् ।
कोरोनाभाइरस फैलिएको भन्दै इजरायलले आइतबारदेखि लागू हुनेगरी दुई साताको लकडाउन गरेको छ भने फ्रान्सका स्वास्थ्य मन्त्रीले पनि क्रिसमस पछि कोरोना फैलिने आशंकामा लकडाउन गर्ने योजना बनाइएको जानकारी दिएका छन् । बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ स्वरुप र युरोपदेखि जापानसम्म यो भाइरस पुगेको भन्दै तनाबको वातावरण सिर्जना भएको छ । कोरोनाभाइरसको नयाँ संस्करण म्याड्रिडमा शनिबार चार जनामा भेटिएको छ, तर उनीहरू गम्भीर बिरामी नभएको स्पेनी स्वास्थ्य अधिकारी एन्टोनियो जापाटेरोले बताए । (रासस–एएफपी)