काठमाडौं ।
कोभिड–१९ को कारण तहसनहस भएको नेपालको उद्योग क्षेत्र अझै पूर्ण क्षमतामा सञ्चालन हुनसकेको छैन । पुसको दोस्रो सातासम्म ५७ प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएको छ । गत जेठमा छ प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएको थियो । गत चैतदेखि नेपालमा लकडाउन लगाइएको थियो र साउन पहिलो सातादेखि लकडाउन अन्त्य गरिएको थियो । तर, उद्योग क्षेत्र कमजोर नै छ ।
५७ प्रतिशत उद्योग क्षेत्र पूर्ण क्षमतामा चल्दा नै अहिले देशको अर्थतन्त्रमा भने सकारात्मक असर देखा पर्न थालेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । कोभिडको प्रभाव अनुमान गरिएभन्दा कम देखिएको कारण उद्योग क्षेत्र अब थप सशक्त हुने र त्यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने गभर्नर अधिकारीको दाबी छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भर्चुअल अन्तत्र्रिmया कार्यक्रममा गभर्नर अधिकारीले त्यस्तो दाबी गरेका हुन् ।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको बताउँदै गभर्नर अधिकारीले भने, ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ ।’ ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनर्कर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरुले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुनर्कर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ’, गभर्नर अधिकारीले भने ।