काठमाडौं ।
फो–पेमार्फत नेपाल भेन्टिलेटर बैंकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोन–पे पेमेन्ट सर्भिस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । यस अभियानअन्तर्गत फोन–पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार एक छुट्याइएको थियो । यसरी छुट्याइएको पाँच लाख ९१ हजार छ सय सात रुपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो ।
सहयोग रकम एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरे । भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भदौ १ गतेदेखि एक महिनासम्म यो अभियान लागू गरिएको थियो । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने– ‘यो विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले भेन्टिलेटर बैंकलाई थोरै भए पनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ।’
फोन–पे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोन–पे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने एक लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । ११ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाखभन्दा बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन–पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड ‘पीसीआई डीएसएस भीथ्री टु वान’ प्रमाणीकरण प्राप्त संस्था हो ।
६० भेन्टिलेटरलगायतका सघन उपचारका उपकरणहरूको साथ नेपाल भेन्टिलेटर बैंकले १७ जिल्लामा सरकारी, सामुदायिक र निजी अस्पतालहरूलाई सेवा प्रदान गर्दै आएको र एक हजारभन्दा बढी व्यक्तिको ज्यान बचाउन सहयोग गरेको छ । प्रत्येक प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने उद्देश्यले नेपाल भेन्टिलेटर बैंकले भर्खरै गण्डकी प्रदेश, पोखरामा आफ्नो पहिलो प्रदेश कार्यालय सुरू गरिसकेको जानकारी दिएको छ ।