काठमाडौं ।
सर्लाही, धनकौल ६ का प्रदीप साहले करोडौँ राजस्व छलेको पाइएको छ । राजस्व अनुसन्धान विभाग, हरिहरभवनले झूटा तथा नक्कली मूल्यअभिवृद्धि करबीजक प्रयोग गरी साहलगायत १० जनाको समूहले ६५ करोड २८ लाख ५२ हजार राजस्व छली गरेको जानकारी दिएको छ । विभागले साहले राजस्व छली गरेसँगै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफाबमोजिम कुल बिगो ६५ करोड २८ लाख ५२ हजार बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले शुक्रबार एक सूचना जारी गर्दै एक अर्ब ३२ करोड ४६ लाख १२ हजार राजस्व छली गरेको भन्दै सर्लाहीका राम किशोर प्रसादविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गराएको थियो । सर्लाहीका साह र प्रसादले एकै शैली अर्थात् आर्थिक अवस्था कमजोर भएका मजदुरहरुलाई सीमित रकम दिई उनीहरुबाट कागजात लिई कम्पनी दर्ता गर्ने तथा सो कम्पनीमार्फत राजस्व छली गर्ने गरेको पाइएको छ । सोसँगै साह र प्रसादविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा विभागले जरिवाना र कैद सजाय माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
विभागका अनुसार साहले आर्थिक वर्ष ०७३/०७४ देखि ०७५/०७६ सम्ममा भ्याटतर्फ २२ करोड ४९ लाख ६९ हजार र आयकरतर्फ ३७ करोड ५८ लाख ३६ हजार र लाभांश करतर्फ पाँच करोड २० लाख ४५ हजार राजस्व चुहावट गरेका छन् ।
उपमहानिर्देशक नरनाथ गिरीका अनुसार साहले आर.के.एम ट्रेडिङ प्रालि (स्थायी लेखा नं ६०६८२८१७४) लगायत विभिन्न १३ वटा फर्महरुको कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरी उक्त सबै फर्महरुको खाता सञ्चालन साहले नै गरी विभिन्न फर्महरुको नाममा झूटा तथा नक्कली बिक्री बीजक जारी गर्ने गरेका थिए ।
योसँगै विभागले सबै सबुद प्रमाणबाट राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले उक्त फर्महरुको मुख्य कारोबारी साह समेत उक्त विभिन्न १३ वटा फर्ममा सञ्चालक तथा प्रेपाइटरहरु समेत १० जनालाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन, २०५२ को दफा २३ को तथा सोही ऐन (पहिलो संशोधन २०७६) को दफा २३ बमोजिम बिगो जरिवाना तथा कैदको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको हो । प्रसादले पनि ४६ करोड ८१ लाख ८० हजार भ्याट र ८६ करोड ५६ लाख आयकर र दुई करोड आठ लाख ३० हजार लाभांश कर छली गरेको आरोप लागेको छ । विभागले प्रसाद भने पक्राउ परेको जानकारी दिएको छ ।