काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी बुधबार उक्त बैंकसँग अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
बैैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । दुवै बैंकले आ—आफ्नो विशेष/साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरिनेछ । दुवै बैंकले गत कात्तिक एक गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो ।
२०७७ साल पुस २२ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब एक खर्ब २४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब एक खर्ब दुई अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको कुल एक सय ६३ शाखा हुनेछ । सहमतिअनुसार तिनाउका सेयरधनीले एक सय कित्ता सेयरबराबर सिटिजन्सको ९६ कित्ता सेयर पाउनेछन् । सिटिजन्सको हालको चुक्ता पुँजी नौ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।