फ्रान्कफर्ट ।
जर्मन कम्पनी बायोएनटेकले कोभिड–१९ विरुद्धको दोस्रो मात्रालाई तीन हप्ताभन्दा बढी ढिलो गरी लगाउन नहुने भन्दै तालिका अनुसार खोप दिन खोप प्रयोगकर्ता देशहरूलाई मङ्गलबार आग्रह गरेको छ । कोभिड–१९ खोपको दोस्रो मात्रालाई तीन हप्ताभन्दा ढिलो गर्न ‘सुरक्षा र प्रभावकारिता’ लाई समर्थन गर्ने कुनै तथ्यांक नरहेको कम्पनीले जनाएको छ । केही देशहरूले उक्त खोप पहिलो चरणमा धेरै व्यक्तिलाई दिन र दोस्रो चरणलाई केही ढिला गर्न थालेको समाचारपछि कम्पनीले खोपको प्रभावकारितालाई हेरेर तोकिएको समयमा नै दुवै मात्रा दिन आग्रह गरेको हो ।
वायोएनटेकले अमेरिकी औषधि कम्पनी फाइजरसँगको सहकार्यमा विकास गरेको र यदि यसलाई २१ दिनको फरकमा दुई मात्रा दिएमा कोभिड–१९ विरुद्धको अभियान ९५ प्रतिशत प्रभावकारी हुने क्लिनिकल अनुसन्धानले पुष्टि गरेको जनाएको छ । कम्पनीले भनेको छ, ‘खोज ताथ अनुसन्धानले वायोएनटेक र फाइजरको सहकार्यमा बनेको यो खोपको पहिलो मात्राले खोप लगाएको १२ दिनपछि आंशिक सुरक्षा पाइन्छ तर २१ दिन पछि पहिलो मात्राले सुरक्षाको प्रत्याभूत गर्ने कुनै आधार छैन ।’ रासस/एएफपी