दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आएको बजेटले सडक सोलिङ गर्ने भएको छ । उक्त कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा गाउँपालिकालाई आएको दुई करोड ८३ लाख ८९ हजार रुपैयाँले सबै वडाका ग्रामीण सडक निर्माण तथा सोलिङमा खर्च गर्ने भएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार गाउँपालिकाको वडा नम्बर ९ सुन्द्रावतीमा चालू वर्षको सुरुमै सो शीर्षककको पाँच लाख रकमले खर्च भइसकेको छ । वडा कार्यालयले छापस्वारा–सुन्द्रावती सडकखण्डमा गाउँपालिकाले चालू वर्षमा छुट्याएको पाँच लाख रकमले ढुंगालगायतका निर्माण सामग्री खरिद गरेर पहिलो चरणमा दुई सय ९० मिटर सडक सोलिङ गरेको वडा अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।
सोलिङ गर्न बाँकी रहेको सडकमा दोस्रो चरणमा सोलिङ गर्ने तयारी गरेको वडा अध्यक्ष मैनालीले बताए । साथै वडाले गरेको सडक सोलिङको गाउँपालिकाको अनुगमन टोलीले थोरै बजेटमा वडाले नमूना काम गरेर देखाएको बताएका छ ।
कालिञ्चोक गाउँपालिका प्रमुख प्राविधिक इन्जिनियर नारायण शिवाकोटीले वडाले गाउँपालिकाभित्रमै नमूना र राम्रो काम गरेको दाबी गरे । साथै गाउँपालिकाले अन्य वडालाई पनि उक्त कार्यक्रम सुचारु गर्न आग्रह गरेको छ । गाउँपालिकाले सो रकम सडक निर्माण तथा मर्मतमा स्थानीयलाई रोजगार दिएर खर्च गर्ने जनाएको छ । अहिले गाउँपालिका अन्य वडामा समेत सडक सोलिङको काम भइरहेको प्रमुख इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए ।