काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडलाई ४३ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको छ । बोर्डका अनुसार मंगलबार उक्त कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणका लागि समेत गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको हो ।
कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत अर्थात् एक अर्ब एक करोड ५० लाख रुपैयाँ लगानी रहेको छ भने सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर लगानी रहनेछ । कम्पनीको सेयर निष्काशन एवं प्रबन्धकको रूपमा भने मेगा क्यापिटल लिमिटेड रहेको छ ।यसैबीच कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र अर्थात् दोलखा जिल्लाको बिगुु क्षेत्र र कालिञ्चोक क्षेत्रका जनताको लागि १४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ ।
कम्पनीले यही माघ चार गतेबाट सो क्षेत्रका स्थानीय जनताको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ लाख ५० हजार कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो । बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही माघ १८ गते र ढिलोमा फागुुन तीन गते बन्द हुनेछ । सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम दुुई लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।