काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार पुुनः १४ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस २० गते पनि राष्ट्र बैंकले पाँच अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति यही पुस २८ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ चैत ३१ गते र एक सय ८२ दिने अवधिको परिपक्व हुुने अवधि वि.सं. २०७८ असार २९ गते रहेको छ ।
यसअघि यही पुुस २० गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि सरकारको लागि दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोमध्ये चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।
चालू आर्थिक वर्षको आन्तरिक ऋण निष्काशन तालिकाअनुसार चालू आवको दोस्रो चौमासिक अवधिमा ५६ अर्ब र तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १२ अर्ब रुपैयाँको आन्तरिक ऋण निष्काशन गर्ने तयारी गरेको छ । चालू आवको प्रथम चौमासिकको लागि छु्ट्याइएको कुुल आन्तरिक ऋण तालिकाअन्तर्गत भने सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल र ५० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र रहेको छ । यसैगरी दोस्रो त्रैमासिकको लागि छुट्याइएको आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र र दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।
चालू आवको तेस्रो चौमासिक अवधिमा निष्काशन गरिने कुल आन्तरिक ऋण निष्काशन तालिकाअन्तर्गत भने ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब ५० करोड रुपैयाँबराबरको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र रहेका छन् ।