काठमाडौँ ।
मुक्तिनाथ विकास बैंकको लाभांश पारित भएको छ । बैंकको यही पुस २५ गते शनिबार सम्पन्न भएको १४औं वार्षिक साधारणसभाले कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आव २०७६/०७७ को वार्षिक प्रतिवेदन, आव २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरूसहित आव ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरूलाई चार दशमलव २५ प्रतिशत नगद लाभांश र ११ दशमलव २५ बोनस सेयरसहित उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए ।
साथै, बैंकले कोरोना (कोभिड १९) महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरूलाई सहभागिता गराइएको थियो । साधारणसभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरूबाट सल्लाह, सुझाव र जिज्ञासाहरू प्राप्त भएको थियो । सेयरधनीहरूबाट प्राप्त जिज्ञासाहरूलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।