काठमाडौँ ।
नेपाल बंगलादेश बैकले २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैकले आइतबार बैंकको सभाकक्ष, कमलादी, काठमाडौँबाट जुम बेबिनारमार्फत वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सञ्चालक समितिका अध्यक्ष एआरएम नजमुस शकिबले जुम बेबिनारमार्फत नै अध्यक्षता गरेको उक्त कार्यक्रममा सञ्चालकहरू इन्द्रबहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहमद साहआलम सरवर, दीपक कार्की, कमरुननहर अहमदका साथै प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना लगायत बैंकका उच्चपदस्थ अधिकारीहरू, लेखापरीक्षकहरू, कानुनी सल्लाहकार एवं नियमनकारी निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलले दिएको जानकारी अनुसार उक्त साधारणसभामा बैंकको चुक्ता पुँजीको झण्डै ५५ प्रतिशतभन्दा बढी सेयरधनीको प्रतिनिधित्व हुनेगरी २५ जना मात्र सेयरधनीको भौतिक उपस्थिति रहेको थियो भने ९० जनाभन्दा बढी सेयरधनीहरू जुम बेबिनारमार्फत जोडिनुका साथै बैंकको अफिसियल फेसबुक पेजबाट पनि सेयरधनीहरू सो कार्यक्रममा जोडिएका थिए ।
उक्त सभाले आव २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदनसहितको आव २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरू पारित गर्नुका साथै बैंकका सहायककम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेडसहितको आव २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो ।
बैंकले आव २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक सुधिरकुमार शर्मा, एस एण्ड एस एसोसिएट्नस चार्टड अकाउन्टेन्टलाई पुनः नियुक्ति गरेको छ । आव २०७६/०७७ को मुनाफा रकमबाट २०७७ आसार मसान्तमा कायम रहेको चुक्ता पुँजीको दुुई दशमलव ४२ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्न स्वीकृति दिनुका साथै छ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने निर्णय समेत सर्वसम्मतिबाट पारित गरेको थियो ।
साथै बैंकको साधारणसभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अर्ब पु-याउने र जारी तथा चुक्ता पुँजीमा बोनस सेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ । सेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा अध्यक्षको अनुमतिले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले जवाफ दिएका थिए ।