काठमाडौं ।
नेपालका लागि रिपब्लिक अफ कोरियाका राजदूत छङसकपार्कले नेपालमा कोरियाली लगानी विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग परिसंघमा पदाधिकारीसँगको अन्तरक्रियामा कोरियाली राजदूत छङसकपार्कले नेपालको पर्यटन, जलविद्युत् तथा पूर्वाधारमा लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई प्रेरित गर्ने बताएका हुन् ।
कोरियामा आयोजना हुने व्यापार तथा लगानी मेलामा सहभागी हुने नेपाली व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गरिने पनि राजदूत पार्कले बताए । सो अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा वैदेशिक लगानीका लागि अवसर र उच्चतम प्रतिफल रहेको बताउँदै कोरियाली लगानीलाई प्रोत्साहन गर्न परिसंघ सहयोग गर्न तयार रहेको बताए ।
कोरिया र नेपालबीचको सौहार्दपूर्ण सम्बन्धलाई बलियो आर्थिक साझेदारीमा रूपान्तरणका लागि थप कोरियाली पुँजी तथा प्रविधिलाई नेपाल भित्र्याउनेतर्फ थप सहयोगका लागि अध्यक्ष मोरले राजदूतसँग आग्रह समेत गरे ।
परिसंघका उपाध्यक्षहरू अनुज अग्रवाल, निर्वाण चौधरी, सुलभ अग्रवाल र विरेन्द्रराज पाण्डेले नेपालमा कोरियाली एक्जिम बैंकमार्फत पुँजी जुटाउन तथा पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि कोरियाली लगानीकर्ताहरूलाई सहजीकरण गर्न कोरियाली दूतावाससँग सहकार्य गर्न तयार रहेको बताए ।
कोरियामा काम गरेर फर्केका नेपालीहरूका कारण कोरियाली कम्पनीहरूका लागि नेपालमा दक्ष कामदार जुटाउन सहज वातावरण भएकाले यसलाई उपयोग गर्न पनि परिसंघले आग्रह गरेको छ । कोभिड पेनडेमिकको असर कम हुनासाथ द्विपक्षीय लगानीकर्ताहरूको आदान प्रदानका लागि सहजीकरण गर्ने पनि परिसंघले प्रतिबद्धता जनाएको छ ।