काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकका अनुसार रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट खतिवडा नियुक्त भएका हुन् । बैंकले प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न पुस १० गते १५ दिनको पदपूर्तिसम्बन्धी विज्ञापनको सार्वजनिक गरेको थियो ।
उक्त सूचनाबमोजिम प्राप्त आवेदनहरूमध्ये सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, विजनेस प्लान, विजनेस प्लानको प्रस्तुतीकरण एवं अन्तर्वार्ता समेतको मूल्यांकनबाट अन्य प्रतिस्पर्धीभन्दा बढी नम्बर ल्याई योग्यता निर्धारणको रोल क्रममा एक नम्बरमा परेका खतिवडालाई बैंक सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावलीबमोजिम यही माघ १ गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । उनले मास्टर इन बिजनेस स्टडिज (एमबीबीएस), मास्टर अफ साइन्स इन फाइनान्स (एमएस), चार्टल फाइनान्सियल एनालाइसिस्ट (सीएफए), चार्टर्ड इकोनोमिस्ट (सीएचई) समेतको अध्ययन पूरा गरी हाल इन्फ्रास्ट्रक्चर फाइनान्समा विद्यावारिधी गरिरहेका छन् ।
त्यसैगरी उनीसँग एनआईबीएल क्यापिटल मार्केट लि., हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लगानी बोर्ड, विद्युुत् नियमन विभाग विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको छ । दीर्घकालीन स्रोत संकलनमार्फत देशको पूर्वाधार विकासका परियोजनाहरूमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले माघ २ गतेदेखि जारी पुँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रूपैयाँको आठ करोड कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ ।