काठमाडौँ ।
कुमारी बैंक लिमिटेडले क्यूआर स्क्यान एण्ड विथड्रल सुविधाको थालनी गरेको छ । बैंकका अनुसार सुविधाअन्तर्गत बैंकका ग्राहक वर्गहरूले कार्डविना या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसनमार्फत टेलरमा राखिएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ ड्र गर्न सक्नेछन् ।
ग्राहक वर्गले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्यान्डमार्फत उक्त सेवाको लाभलिन सक्नेछन् । क्यूआर प्रणालीमार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ र कार्डको दैनिक कारोबार सीमाअन्तर्गत नै पर्नेछ । कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितिमा यस सुविधाले कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षामा हानि नपुग्ने तथा टेलर स्टाफ र ग्राहक दुवैको समय बचत हुनेमा पनि बैंक विश्वस्त छ ।
बैंकले आफ्ना देशव्यापी एक सय ९२ शाखा सञ्जाल, एक सय ५२ एटीएम, २३ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।