काठमाडौँ ।
चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । कम्पनीको ११औँ वार्षिक साधारणसभाले उक्त निर्णय गरेको हो ।
चन्द्रागिरिको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै यो योजना सार्वजनिक गरिएको कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए । स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको सेयरमा १२ लाख ५६ हजार ७ सय ४६ जनाले आवेदन दिएका छन् । छुट पाउनको लागि आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना माघ ५ गतेदेखि १ वर्षसम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । कम्पनीका अध्यक्ष ढकालको सभापतित्वमा बुधबार सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।