काठमाडौं ।
नेपाल मैदा उद्योग संघको २२औं वार्षिक साधारणसभाले कुमुद कुमार दुगडलाई आगामी दुई वर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेका छ । शुक्रबार काठमाडौंमा सम्पन्न सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा सुलभ अग्रवाल, तृतीय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।
अध्यक्ष दुगड यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भईसकेका छन् । यसपटक पनि सभाले संघको नयाँ नेतृत्वको लागि पुनः दुगडलाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । साथै सभाले मूल्यअभिवृद्धि करका कारण आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसकेको हुँदा मूअ कर छुट गर्न, अन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज गर्न, कच्चा पदार्थ गहुं र तयारी वस्तु मैदा आयात गर्दा भन्सार मूल्यांकन कमसेकम दुई तहले फरक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
यस्तै गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कम भएकोले कम्तीमा पनि दुई तह फरक गर्न, गहुँ आयातमा ५ प्रतिशत कृषि सुधार शुल्कलाई उद्योगकै नाममा गहुँ आयात गर्दा एक प्रतिशत कायम गर्न, अफसिजनमा भए पनि स्वदेशी उद्योगलाई सहुलियत दरमा गहुँ आयात गर्न पाउनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गर्ने सभाले निर्णय गरेको छ । फ्लोर फोर्टिफिकेसन आयातित मैदामा पनि हुनुपर्ने, नेपालमा गहुँ उत्पादन बढाउन किसान, सरकार र व्यवसायीको सहकार्य गर्दै जाने, मैदा निर्यातमा दिँदै आएको निर्यात अनुदानलाई पुनः पाँच प्रतिशत कायम हुनुपर्ने माग गर्ने संघको साधारणसभाले निर्णय गरेको छ ।