काठमाडौँ ।
माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको एकीकृत कारोबार सुभारम्भ भएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेडले एकआपसमा गाभिई सयुक्तरूपमा कारोबार सुभारम्भ गरेका हुुन् । एकीकृत कारोबारको समुद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार उक्त मर्चेन्ट बैंकरको बागदरबार, सुन्धारस्थित केन्द्रीय कार्यालयमा गरेका हुुन् ।
कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले माछापुच्छ्रे कृति क्यापिटललाई व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पुँजीबजारमा मर्चेन्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमशः विकास हुँदै गइरहेकोले मर्चेन्ट बैंकरले आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै जानुपर्ने बताए ।
उनले विकसित देशमा बजार पुँजीकरणभन्दा ३/४ गुणासम्म सामूहिक लगानी कोषमार्फत पुँजी परिचालन हुने गरेको सन्दर्भमा नेपालमा समेत यसको व्यापक सम्भावना रहेकोले यसको विकासमा मर्चेन्ट बैंकरले भूमिका खेल्नुपर्ने बताए ।
त्यस्तै, उनले संस्थागत परामर्श सेवा, विशिष्टीकृत लगानी कोष (प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल) व्यवस्थापन, ऋणपत्र तथा स्वपुँजी लगानी परामर्श, निश्चित प्रतिशत प्रतिफल सुनिश्चितता सहितको लगानी परामर्श सेवा, विदेशी संस्थागत लगानीकर्ता तथा गैरआवासीय नेपालीमार्फत विदेशी स्रोतको परिचालनलगायतमा समेत मर्चेन्ट बैंकरले भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए । साथै, उनले मर्जपश्चात् उच्च व्यवस्थापन र कर्मचारी समेतको उचित व्यवस्थापन हुनसके मात्र मर्ज सफल हुने भएकोले यस विषयमा माछापुच्छ्रे कृति क्यापिटलले विशेष ध्यान पु¥याउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतो विशेष अतिथिको रूपमा रहेका थिए भने कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, माछापुच्छ्रे कृति क्यापिटल लि.का अध्यक्ष विश्वम्भर न्यौपाने, माछापुच्छ्रे कृति क्यापिटलका अन्य सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्यको उपस्थिति रहेको थियो ।