सोल ।
चर्चित कम्पनी सामसङका उत्तराधिकारी ली जाई योंगलाई दक्षिण कोरियाको उच्च अदालतले साढे २ वर्ष जेल सजायको फैसला सुनाएको छ । घुसकाण्डमा मुछिएको प्रमाणित भएसँगै उनीविरुद्ध जेलसजायको फैसला भएको हो । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई समेत यही घुसकाण्ड र भ्रष्टाचारमा जेलसजाय भइसकेको छ ।
सन् २०१४ देखि नै उनी सामसङ इलेक्ट्रोनिक्सको डि फ्याक्टो हेड रहेका छन् । यो फैसलासँगै कम्पनीमा उनको भविष्यको भूमिका जटिल हुनपुगेको छ । यो फैसलाको समाचार बाहिरिएसँगै कमपनीको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको बताइएको छ । जेलसजायसँगै निर्णायक भूमिका ओझेलमा परेको छ । विज्ञहरुले कम्पनीमा उनको नेतृत्व खट्किनसक्ने आकलन गरेका छन् ।
लीले सन् २०१४ मा आफ्ना बुबा ली कुन हीलाई हृदयाघात भएर अस्पताल बस्नुपरेपछि जिम्मेवारी लिएका थिए । अदालतले उनले घुस दिएर पूर्वराष्ट्रपति पार्कलाई राष्ट्रपतीय शक्ति प्रयोग गरी आफूलाई सामसङको प्रमुख बनाउन मद्दत मागेको देखिएको बताएको छ । ली ७८ लाख अमेरिकी डलर घुसकाण्डमा संलग्न देखिएको अदालतले फैसलामा उल्लेख गरेको बताइएको छ ।
लीका वकिलहरुले भने अदालतको फैसलामा असन्तुष्टि व्यक्त गरेका छन् । उनी पहिलोपटक सन् २०१७ फेब्रुअरीमा समातिएका थिए । सामसङविरुद्ध पूर्वराष्ट्रपति पार्कको साथी चोई सुन सिलले सञ्चालन गरेको गैरनाफामूलक फाउन्डेसनलाई ४३ अर्ब वन अर्थात् ३ करोड ७७ लाख अमेरिकी डलर राजनीतिक सहायताको लागि दिएको आरोप लागेको थियो । यसको सट्टामा विवादित सामसङ मर्जरलाई राष्ट्रपतिले सहयोग गर्ने गोप्य सहमति भएको आरोप थियो । जुन मर्जरलाई सरकारको सहयोग आवश्यक थियो ।
सन् २०१७ अगस्टमा अदालतले पाँच वर्षको जेल सजाय सुनाए पनि सन् २०१८ फेब्रुअरीमा रोकिएको थियो । सोल उच्च अदालतले उनको जेल सजाय कटौती गर्दै उनलाई छुटाइदिएको थियो । पछि फेरि सर्वोच्च अदालतले उक्त मुद्दा उच्च अदालतमै पठाइदिएपछि सोमबार यस्तो फैसला भएको हो ।