काठमाडौं ।
पछिल्लो समय सर्वसाधारणहरु सेयरबजारमा झुम्मिएका छन् । सेयरको पहिलो र दोस्रो दुवै बजारमा लगानीकर्ताहरुको संख्या वृद्धि हुँदै जाँदा नेपालको सेयरबजारमा आकर्षण बढेको स्वतः अनुमान लगाउन सकिने अवस्था छ ।
लगातार सेयरबजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा सेयरबाट राम्रो फाइदा हुन्छ भन्ने देखेपछि प्राथमिक बजारमा लगानी गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयरको आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म १५ लाख २९ हजार चार सय ६० बराबरको आवेदन परेको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदनको मूल्याङ्कन भने गर्न बाँकी रहेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार सात करोड ५८ लाख ४० हजारको साधारण सेयरमा झण्डै १८ अर्ब १२ करोड ८६ लाख ७२ हजारबराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको सङ्ख्या केही थपिनसक्ने बताइएको छ ।
सो बैंकको साधारण सेयरमा १५ लाख २६ हजार पाँच सय २७ वटा आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार १८ करोड नौ लाख ८५ हजार आठ सय कित्ताको लागि माग आएको छ । कम्पनीले सर्वसाधारणतर्फ सात करोड ५८ लाख ४० हजार कित्ता सेयर बिक्री गरेको हो । यस्तै एक लाख ६० हजार कित्ता कर्मचारीको लागि र ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।
साधारण सेयर यही माघ २ गतेदेखि आजसम्म बिक्री गरिएको हो । पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ सो बैंकको अहिले साधारण सेयर बिक्रीपछि चुक्ता पुँजी २० अर्ब पुग्नेछ । उक्त बैंंक मध्यमस्तरको कम्पनी हो । कम्पनीले माघ २ गतेदेखि ६ गते मंगलबारसम्म आवेदन खुला गरेको थियो ।