काठमाडौं ।
अघिल्लो दुई दिन लगातार उकालो लागेको सेयर बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार भने ओरालो लागेको छ । यसदिन बजार परिसूचक पाँच दशमलव ५७ अंकले ओरालो लागेर २३ सय २६ दशमलव ९० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८५ अंकले ओरालो लागेर चार सय ४२ दशमलव ८२ अंकमा पुगेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय छवटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५७ हजार नौ सय ८० पटकको कारोबारमा एक करोड ६३ लाख पाँच हजार एक सय ४१ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ४६ करोड ७४ लाख ३९ हजार आठ सय ४८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुुल उपसमूहमध्ये तीनवटा उपसमूहको सूचक बढेका छन् भने बाँकीको घटेका छन् । सोमध्ये वाणिज्य बैंक उपसमूहको सूचक आठ दशमलव छ अंकले ओरालो लागेर १७ सय ३० दशमलव ३२ अंकमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि २४ दशमलव ९४ अंकले ओरालो लागेर २५ सय २२ दशमलव ५८ अंकमा झरेको छ । यसैगरी जलविद्युत् उपसमूहको सूचक पनि आठ दशमलव १४ अंकले ओरालो लागेर १७ सय ५६ दशमलव ४७ अंकमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि एक सय २४ दशमलव ८९ अंकले ओरालो लागेर १० हजार सात सय ५६ दशमलव १० अंकमा झरेको छ ।
यीबाहेक होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष उपसमूहको सूचक पनि क्रमशः २६ दशमलव ३८, ३९ दशमलव १४, २८ दशमलव १३, ११ दशमलव तीन र शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेका छन् । जीवन बीमा उपसमूहको सूचक भने यसदिन पाँच सय ३५ दशमलव ६७ अंकले उकालो लागेर १५ हजार छ सय १० दसमलाव १७ अंकमा चढेकोमा ट्रेडिङ र फाइनान्स उपसमूहको सूचक पनि क्रमशः ३९ दशमलव ६२ र ३७ दशमलव २२ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ६५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर दुई सय ९७ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक गुर्खाज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सर्पोट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सात दशमलव ७४ प्रतिशतले घटेर १३ सय रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको छ्याङदी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच प्रतिशतले घटेर एक सय ७१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मेरो माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकिकत्ता २६ सय ८९ रुपैयाँ अन्तिम मूल्यमा ९१ करोड ९३ लाख ८४ हजार एक सय २१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रभु बैंकको पनि प्रतिकित्ता चार सय ५९ रुपैयाँ अन्तिम मूल्यमा ३५ करोड ६१ लाख ९२ हजार छ सय २८ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।