बेइजिङ ।
नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको मङ्गलबार चिनियाँ अधिकारीहरूले उद्धारकर्तालाई उद्धृत गरी जानकारी गराएका छन् । एएफपीका अनुसार औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशा बढेको उद्धारकर्ताहरूले जानकारी गराएका छन् ।
खानीको करिब पाँच सय मिटरको गहिराईमा उनीहरू फसेको उल्लेख गरिएको छ । पूर्वी चीनको शेन्दोङ प्रान्तको यान्ताई नजिकै रहेको सुनखानीमा जनवरी १० मा विष्फोट भई पहिरो खस्दा २२ व्यक्ति खानीभित्र फसेका थिए । उनीहरू खानीबाहिर आउनका लागि बनाएको भ¥याङ भत्किएपछि बाहिर निस्किने बाटो अवरूद्ध बनेको थियो । गत शनिबार खानीभित्रबाट सहयोगका लागि आवाज (संकेत) आएपछि खानीभित्र फसेका कामदारलाई जीवितै उद्धार गर्ने आशा पलाएको थियो ।
आइतबार उनीहरूसम्म तार पु¥याइएको थियो र तारमा श्रमिकले आफूहरूमध्ये करिब एक दर्जन व्यक्ति खानीभित्र पानीले घेरिएको अवस्थामा जीवितै रहेको भन्दै औषधि तथा उद्धारका लागि आग्रह गरेका थिए । खानीमा फसेका १० जनाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको बताइएको छ । पत्रमा आफूहरूमध्ये धेरै जना घाइते भएको उल्लेख गरिएको छ । भोकले निकै कमजोर बनेका दुई श्रमिकले खाना पाएपछि पुनः माथि चढ्ने बल मिलेको समेत फसेका श्रमिकले उद्धारकर्ताहरूलाई सन्देश पठाएका छन् ।