ढाका ।
कोरोनाले समग्र अर्थतन्त्रलाई चौपट पार्दा पनि बंगलादेशको बिस्कुट निर्यात भने बढेको छ । बंगलादेशी मिडियाहरुका अनुसार घरेलु र बाह्य बजारमा बिस्कुटको माग बढेको हो । आर्थिक वर्ष २०१९/०२० मा वर्षगत तुलनामा बिस्कुट निर्यात १० प्रतिशतले बढेको बताइएको छ ।
चालू आर्थिक वर्षमा बिस्कुट शिपमेन्टको लहर बढिरहेको छ । सन् २०१८/०१९ को जुलाई–डिसेम्बर अवधिमा बंगलादेशले एक करोड ६६ लाख अमेरिकी डलरको बिस्कुट निर्यात गरेको थियो । तर चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात झण्डै दोब्बर अर्थात् तीन करोड १५ लाख अमेरिकी डलरको बिस्कुट निर्यात भएको छ । बंगलादेशको निर्यात प्रवर्द्धन ब्युरोको तथ्यांकले यस्तो देखाएको हो ।
अन्य किनमेल गरिने वस्तुको शिपमेन्ट शून्य दशमलव ३६ प्रतिशतले घटेर १९ अर्ब २३ करोड डलरमा झरे पनि बिस्कुट उत्पादन र निर्यात भने बढेको छ । त्यस्तै रेस्टुराँ र सडकगल्लीले बेच्ने खाद्य उपभोग भने घटेको छ । सस्तो र सहज पहुँचका कारण पनि बिस्कुटको माग बढेको व्यवसायीको भनाइ छ । बंगलादेशमा इनर्जी प्लस, टिप, नटी जस्ता चर्चित बिस्कुटले २५ देखि ३० प्रतिशत बजार हिस्सा ओगट्छन् । बाह्य बजारमा बंगलादेशी बिस्कुट रुचाउनेमा बंगलादेशी प्रवासीहरु रहेका छन् । वर्षगत रुपमा बंगलादेशको बिस्कुट उद्योग १५ प्रतिशतले बढेको छ । यी उद्योगको पाँच हजार करोड टाका बजार हिस्सा छ ।
ओलम्पिक नामक बिस्कुटको बिक्री मात्रै १५ प्रतिशतले बढेको बताइएको छ । त्यस्तै बंगाज ब्रान्डको बिस्कुट पनि राम्रै बिक्री भएको छ । महामारीकै बीच कुनै पनि बिस्कुट उद्योग बन्द नभएको बताइएको छ । त्यस्तै घरेलु बजारमा बिस्कुटको माग समेत ३० देखि ४० प्रतिशतले बढेको छ भने निर्यात ६० प्रतिशत बढीले वृद्धि भएको छ ।