महेन्द्र शाही
सोलुखुम्बु, पुस २१
सगरमाथा आरोही किताबसिंह तामाङको पहलमा थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ का ८० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गएिको छ । वडा नम्बर ७ का देउराली र नाम्से आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।विद्यालयमा भएको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष असिम राईले विद्यालय विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेका हुन् । देउराली आधारभूत विद्यालयका ५५ र नाम्से आधरभूत विद्यालयका २५ जना विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरिएको छ । विद्यार्थीलाई पोसाक प्राप्त भएसँगै जाडोको समयमा विद्यार्थीलाई सहज हुने विद्यालयले जनाएको छ ।
हिउँ पर्न थालेसँगै गरिव र जेहेन्दार विद्यार्थीलाई पोसाकको समस्या हुने गर्दछ । पोसाक पाएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् । पूर्वविद्यालय व्यवस्थापन अध्यक्षसमेत रहेका समाजसेवी तामाङले विगत तीन वर्षदेखि निरन्तर विद्यालयलाई सहयोग गर्दै आएको विद्यालयले जनाएको छ । कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष असिम राईले शैक्षिक सुधार वर्ष घोषणा गरेर अघि बढेको गाउँपालिकालाई यस्ता कार्यलाई ठूलो सहयोग पुग्ने बताए । उहनले शिक्षकहरू कर्तव्यनिष्ठ भएर अघि बढे मात्रै सरकारी विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिने भएकाले जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् । विद्यालय क्षेत्रमा सडकसमेत भएकाले घेराबारको लागि प्राविधिक स्टामेटअनुसार बजेट व्यवस्था गर्ने अध्यक्ष राईले प्रतिबद्धता व्यक्त गरे ।
वडा नम्बर ७ सहितको क्षेत्रमा स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यसहित गाउँपालिकाले डीपीआरको काम सुरु गरेको भन्दै अध्यक्ष राईले ग्रामीण विद्युतीकरणको कामसमेत सुरु भएकाले उज्यालो गाउँपालिका बन्न धेरै वर्ष कुर्नु नपर्ने बताए । अध्यक्ष राईले केही व्यक्तिहरूले यहाँका बालबालिका र गरिब जनतालाई माध्यम बनाएर भ्रष्टाचारसमेत गरेको पाइएकाले त्यस्ता क्रियाकलापप्रति आफूहरू सचेत रहेको भन्दै त्यस्ता गतिविधि नगर्न पनि आग्रह गरे । एनजीओ आइएनजीओमार्फत बालबालिकाको नाममा बजेट ल्याउने र आफू धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा अध्यक्ष राईको जोड थियो ।