नयाँ दिल्ली ।
कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ । लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट पाँच जनाको मृत्यु भएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले जानकारी दिए ।
आगो नियन्त्रणका लागि १० ओटा दमकल परिचालन गरिएको थियो । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको जनाइएको छ । आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ ।
एक अधिकारीले भने, ‘आगलागीका कारण कोरोनाविरुद्धको खोप उत्पादन कार्यमा भने कुनै असर परेको छैन ।’ यो कम्पनीले उत्पादन गरेको खोप नै अहिले भारत अभियानकारूपमा लगाइराखिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविद र प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । सिरम इन्स्टिच्युट अफ इन्डियाले मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै परिवारलाई २५ लाख भारु क्षतिपूर्ति दिने बताएको छ । मृत्यु हुने सबै मजदुर रहेको बताइएको छ । पुणेमा रहेको इन्स्टिच्युटको मन्जरी प्लान्टमा आगलागी भएको हो । यसअघि पनि आगलागी भएको थियो ।
प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीहरुले दोस्रो चरणमा खोप लगाउने
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदै छ । सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा सुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ ।