काठमाडौं ।
नेपाललाई पहिलोपटक कोरोनाविरुद्धको खोप भारत सरकारले उपलब्ध गराएको छ । भारतले अनुदानस्वरुप बिहीबार काठमाडौंमा दश लाख डोज खोप पठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले बिहीबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा उक्त खोप हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले उक्त कार्यक्रममा बताएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने उक्त खोपहरु भारतीय राजदूत क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए । एयर इन्डियाको विमानबाट उक्त खोप भारतले नेपाल पठाएको. हो ।