काठमाडौं ।
सेयर बजार परिसूचक २४ सय अंकको नजिक पुगेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार परिसूचक ३१ दशमलव ८७ अंकले उकालो लागेर २३ सय ७४ दशमलव ६४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले उकालो लागेर चार सय ४५ दशमलव ५९ अंकमा पुगेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय नौवटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ६९ हजार तीन सय ३३ पटकको कारोबारमा एक करोड ८१ लाख पाँच हजार छ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ७९ करोड ८५ लाख २८ हजार चार सय ३३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये दुईवटा उपसमूहको सूचक ओरालो लागेका छन् भने बाँकीको उकालो लागेका छन् । जसमध्ये विकास बैंक उपसमूहको सूचक ३१ दशमलव ३८ अंकले उकालो लागेर दुई हजार पाँच सय ५५ दशमलव ९७ अंकमा चढेकोमा जलविद्युुत् उपसमूहको सूचक पनि ६८ दशमलव २९ अंकले उकालो लागेर १८ सय ७८ दशमलव ३६ अंकमा चढेको छ । निर्जीवन बीमा उपसमूहको सूचक पनि पाँच सय ४० दशमलव २३ अंकले उकालो लागेर ११ हजार चार सय ८२ दशमलव ३१ अंकमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि चार सय ४३ दशमलव ४३ अंकले उकालो लागेर १६ हजार सात सय ८२ दशमलव ९७ अंकमा चढेको छ ।
यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूहको सूचकहरू पनि क्रमशः दुई दशमलव ४७, १३ दशमलव ६२, ३१ दशमलव ९८, २६ दशमलव १३ र एक सय ५४ दशमलव १६ अंकले उकालो लागेका छन् । वाणिज्य बैंक समूहको सूचक भने यसदिन तीन दशमलव ८३ अंकले ओरालो लागेर १७ सय २४ दशमलव छ अंकमा झरेकोमा सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य पाँच अंकले ओरालो लागेको छ ।
यसदिन बढी कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको सर्पोट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर १५ सय १८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको समिट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९८ प्रतिशतले बढेर १९ सय ६२ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक आशा लघुवित्त वित्तीय संंस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने छ दशमलव ७० प्रतिशतले घटेर छ सय ९६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल हाइड्रोडेभलपर कम्पनीको सेयर मूल्य पनि चार दशमलव २५ प्रतिशतले घटेर दुई सय ४८ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक बरुण हाइड्रोपावर कम्पनी, बैंक अफा काठमाडौँ आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २९ सय आठ रुपैयाँ अन्तिम मूल्यमा ५३ करोड ३३ लाख १२ हजार चार सय २१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १३ सय ७३ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ६४ लाख ४८ हजार दुई सय १३ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, प्रभु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।