काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औं वार्षिकोत्सव समारोह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंकप्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताएका छन् ।
प्रमुख अतिथि एवं अर्थमन्त्री पौडेलले बैंकले सञ्चालनमा ल्याएको पाँचवटा शाखा कार्यालयहरू र पाँचवटा एक्टेन्सन काउन्टरहरूको एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गरे । कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरू चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताए ।
बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा रही सामाजिक बैंकिङसहितको ग्राहकमत्री सेवामा बैंकले जोड दिइरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदैै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले दुई खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताए । कार्यक्रममा बैंकमा क्रियाशील तीनवटै ट्रेड युनियनका अध्यक्षहरूले शुभकामना व्यक्त गरेका थिए ।
५६ वर्षअघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको यो बैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका दुई सय ४५ वटा शाखा कार्यालय, दुई सय पाँचवटा एटीएम, ३८ स्थानमा एक्सटेन्सन काउन्टर, ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
कार्यक्रममा बैंकको ५६औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषांक उपहार–२०७७ तथा अनलाइन बैंकिङ खाताको भर्चुअल माध्यमबाट विमोचन तथा शुभारम्भ गरिएको थियो । कार्यक्रममा बैंकको सर्वोत्कृष्ट/उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरूको नाम घोषणा, सर्वोत्कृष्ट/उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो । ५६औं वार्षिकोत्सवको अवसरमा माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रम एक सय ७१ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।
भर्चुलअ माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू, बैंक सञ्चालक समितिका सदस्यहरू, रा.वा. बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीे, उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरू, बैंककी ब्राण्ड एम्बासडर एवं मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, बैंकका प्रादेशिक प्रबन्धकहरू, सम्पूर्ण शाखा कार्यालयका प्रबन्धकहरूलगायत बैंक कर्मचारीहरूको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।