काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले शुुक्रबार केन्द्रीय कार्यालय, बागबजार काठमाडौँमा २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा प्रस्ताव गरिएको १० दशमलव २६ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरू सर्वसम्मतरूपमा पारित भएको छ ।
सभाबाट संस्थापक समूह ‘क’ बाट तीन जना र सर्वसाधारण समूह ‘ख’ बाट एक जना महिलासहित तीन जना गरी जम्मा छ जना सञ्चालक निर्विरोध रूपमा निर्वाचित गरेको छ । साथै साधारणसभा पश्चात बसेको सञ्चालकहरूको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।
समूह ‘क’ बाट सञ्चालकहरूमा मोहनबहादुर बस्नेत र इमानसिंह लामा निर्वाचित भएका छन् भने समूह ‘ख’ बाट चन्द्रप्रसाद बास्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् । साथै, सभाबाट पारित १० दशमलव २६ प्रतिशत बोनस सेयरपश्चात् बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार छ सय ८० पुगेको छ ।
बैंकले सातवटै प्रदेशमा गरी जम्मा एक सय २७ वटा शाखा र एक सय दुईवटा एटीएम सञ्चालन गरी आफ्ना ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गरिरहेको बैंकले जानकारी दिएको छ । बैंकले गत आर्थिक बर्षमा ७९ अर्ब ६१ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद मुनाफा एक अर्ब १० करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।