काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुुमति दिएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न बोर्डसमक्ष निवेदन दिएकोमा उक्त कम्पनीलाई धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरिएको हो ।
नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोषजस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी विसं २०७६ फागुुन एक गतेदेखि लागू हुनेगरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो, प्रवक्ता गिरीले भने । साथै, नेपाल सरकारको बजेट वक्तव्यमा समेत पुँजीबजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो ।
उक्त पृष्ठभूमिमा नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्नसक्ने तथा पुँजीबजारको विकासमा गतिशीलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् बोर्डले धितोपत्र व्यापारीको कार्य सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरेको प्रवक्ता गिरीले बताए ।
नेपालको पुँजीबजारमा हाल स–साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको सन्दर्भमा नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजीबजारमा गतिशीलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डले विश्वास लिएको जानकारी पनि प्रवक्ता गिरीले दिएका छन् ।