न्युयोर्क ।
चिनियाँ भेपिङ अर्थात् विद्युतीय धूमपानसम्बन्धी कम्पनी आरएलएक्स टेक्नोलजी इन्क अमेरिकी सेयरबजारमा प्रवेश गरेको छ । प्रवेश गरेकै दिन अर्थात् शुक्रबार कम्पनीको सेयर ८६ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ । योसँगै कम्पनीको बजार पुँजीकरण झण्डै ३५ अर्ब डलर पुगेको छ ।
आरएलएक्सको सेयर कारोबार सुरु हुँदा २२.३४ अमेरिकी डलर प्रतिकित्तामा कारोबार भएको थियो । कम्पनीले प्रतिकित्ता १२ अमेरिकी डलरमा आईपीओ निष्काशन गरेको थियो । न्युयोर्क स्टक एक्सचेन्जमा ५८ प्रतिशतसम्म कम्पनीको सेयर उकालो लागेको बताइएको छ । यो कम्पनीको मुख्य कार्यालय भने चीनको राजधानी बेइजिङमा छ । कम्पनीले कुल ११ करोड ६५ लाख कित्ता सेयर आईपीओ निष्काशन गरेको हो ।
आईपीओ निष्काशनबाट कम्पनीले १ अर्ब ४० करोड अमेरिकी डलर पुँजी संकलन गरेको छ । उसले प्रतिकित्ता ८ देखि १० अमेरिकी डलरको मूल्य लक्ष्य गरेको थियो । अमेरिकामा चिनियाँ कम्पनीविरुद्ध एकपछि अर्को अनुसन्धान भइरहँदा नयाँ कम्पनीको आगमन भएको हो । यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीविरुद्ध आक्रामक रणनीति अवलम्बन गरेका थिए ।
अमेरिकामा सन् २०२० मा चिनियाँँ कम्पनीहरुले आईपीओ निष्काशन गरेर १३ अर्ब ५० करोड अमेरिकी डलर संकलन गरेका छन् । अघिल्लो वर्ष यस्तो रकम तीन अर्ब ५० करोड डलर मात्रै रहेको थियो । आरएलएक्स सन् २०१८ मा स्थापना भएको कम्पनी हो ।
यसले भेपिङसम्बन्धी आरईएलएक्स ब्रान्डमा उत्पादन गर्छ । यसका प्रमुख केट वांग हुन् । उनले यसअघि उबेर टेक्नोलजिज इन्कको चिनियाँ व्यवसाय हेर्ने प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सन् २०२० को सेप्टेम्बरसम्मको नौ महिनाको कम्पनीको आम्दानी १ करोड ६७ लाख ६० हजार अमेरिकी डलर थियो । कम्पनीले उक्त अवधिमा ३३ करोड ९४ लाख ५० हजार अमेरिकी डलर राजस्व संकलन गरेको थियो ।