काठमाडौं ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको अधिकाशं काम सम्पन्न भइसकेको बताएका छन् । उनले एक महिनापछि सुरुङमा पानी हाल्न सकिने बताए ।
खानेपानी मन्त्री मणिचन्द्र थापालाई आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी गराउँदै उनले निकासका लागि राखिएका सुरुङको ढोका मर्मतलगायत महत्वपूर्ण सबै काम सकिएको बताए । ‘करिब सबै काम सकिएको छ, सुरुङ परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएर विज्ञ समूहबाट सुरुङको निरीक्षण पनि गराएका छौँ’, कार्यकारी निर्देशक खत्रीले भने, ‘सुरुङको दिगोपनाका लागि केही सुधारका कामहरू सुरु गरेका छौँ, २४सै घण्टा गरेर बढीमा चार हप्तामा त्यो काम पनि सम्पन्न गछौँ ।’ बढीमा चार हप्तामा सुरुङमा पानी पठाएर परीक्षणको काम सुरु गर्न सकिने उनको दाबी थियो ।
खानेपानी मन्त्रीले आइतबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि नौ किलोमिटरभित्र सुरुङ र आउटलेट रहेको सिन्धुसम्म पुगेका थिए । त्यसक्रममा मन्त्री थापाले मेलम्ची आयोजनामा अहिलेसम्म भएको कामको विवरण र पानी काठमाडौँ ल्याउन गर्नुपर्ने थप कामबारे जानकारी लिएका थिए । साथै उनले मेलम्चीको पानी खाने राजधानीबासीको धोको पूरा गर्नु आफ्नो लक्ष्य रहेको भन्दै बाँकी कामहरू चाँडै सक्न निर्देशन दिए ।
सुरुङको निरीक्षणलगत्तै मन्त्री थापाले मेलम्चीको पानी खसाल्ने प्रशोधन केन्द्र र संकलन केन्द्रको पनि निरीक्षण गरेका थिए । सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको दुईवटा प्रशोधन केन्द्र रहेका छन् । प्रशोधन केन्द्र दुवैको क्षमता प्रतिदिन आठ दशमलव पाँच करोड लिटर रहेको छ ।