काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक पुँजी बजार फोरम गठन गरेको छ । पुँजी बजारको विकास र विस्तारको लागि क्रियाशील भई काम गर्ने, पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समयसापेक्ष सुधार गर्न सुझाव तयार गर्ने प्रमुख कार्यक्षेत्रका साथ महासंघले पुँजी बजार फोरमको गठन गरेको हो ।
महासंघको कार्यकारिणी समिति सदस्य अम्बिका प्रसाद पौडेलको सभापतित्वमा गठन भएको पुँजी बजार फोरमको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रमशरण थपलिया चयन भएका छन् ।
त्यसैगरी फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष मेख बहादुर थापा, सेक्योर्ड सेकुरिटिज लिमिटेडका अध्यक्ष सन्तोष मैनाली, क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजु प्रालिका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ट बैंकिङ्ग लिमिटेडका सञ्चालक विष्णु प्रसाद बस्याल, ओरल एडभरटाइजिङ्ग एजेन्सीका प्रबन्धनिर्देशक राजन लम्साल र ग्रिनहिल सिटी प्रालिका प्रवन्धक ज्योति दाहाल रहेका छन् ।
एनआरएन इनफ्रास्टक्चर लिमिटेडका कार्यकारि अधिकृत उषा खतिवडा, अनलाइन सेक्युरिटिज प्रालिका प्रबन्धनिर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएका छन् भने फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमार केशर विष्ट चयन भएका छन् ।
समितिमा चुनिएका उद्यमी व्यवसायीहरूलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई स्थायी र भरपर्दाे बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवर्द्धनमा फोरम मार्फत महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । साथै अध्यक्ष गोल्छाले नेपालको पुँजी बजारको विकासमा महासंघको तर्फबाटपनि योगदान दिन सकियोस् भनेर पुँजी बजार फोरम गठनमा विशेष जोड दिएको बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ र रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघाईले पुँजी बजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित पक्षसँग समन्वय गर्ने कार्यमा फोरम सक्रिय रूपमा लाग्ने विश्वास व्यक्त गरे ।