नयाँ दिल्ली ।
भारतका अर्बपति मुकेश अम्बानीले कोरोना महामारी रोक्न गरिएको लकडाउनको प्रत्येक घण्टा ९० करोड भारु आर्जन गरेको एक रिपोर्टले देखाएको छ । महामाारीले सामाजिक, आर्थिक र लैंगिक असमानता झनै बढाएका रिपोर्टहरु आइरहँदा धनी वर्गलाई भने यसले खासै प्रभाव नपरेको देखिएको हो ।
अक्सफेम रिपोर्ट ‘इनइक्वालिटी भाइरस’का अनुसार सन् २०२० मार्चपछि भारतमा सय जना अर्बपतिको सम्पत्तिमा १ सय २९ खर्ब भारु बढेको देखिएको छ । यो बढेको सम्पत्ति १३ करोड ८० लाख सबैभन्दा गरिबलाई वितरण गर्ने हो भने ९४ हजार ४५ भारुका दरले बाँड्न सकिन्छ । यो रिपोर्ट विश्व आर्थिक मञ्चको डाभोस संवादको पहिलो दिन सार्वजनिक गरिएको हो ।
रिपोर्टअनुसार कोरोना महामारी पछिल्लो सय वर्षकै सबैभन्दा ठूलो स्वास्थ्य संकट हो भने सन् १९३० को महामन्दीयता पहिलो ठूलो आर्थिक संकट हो । रिपोर्टमा समावेश सर्वेक्षणमा ७९ देशका २ सय ९५ अर्थशास्त्रीले आफ्नो राय दिएका थिए । जसमा ८७ प्रतिशत उत्तरदाताले महामारीमा आफ्नो देशको आय असमानता बढेको अनुमान गरेको बताएका थिए । भारतमा सन् २०२० को अप्रिलमा प्रतिघण्टा १७ लाख मानिस बेरोजगार भइरहेका थिए । तर भारतीय अर्बपतिहरु मुकेश अम्बानी, गौतम आडवाणी, सुनिल मित्तललगायतका व्यक्तिले भने मार्चपछि लगातार कमाइ गरिरहेका थिए ।
भारतीय अर्बपतिको सम्पत्ति लकडाउनमा ३५ प्रतिशतले बढेको थियो । सो क्रममा भारतीय अर्बपतिको सम्पत्ति अमेरिका, चीन, जर्मनी, रुस र फ्रान्सभन्दा पछाडि अर्थात् छैठौँ स्थानमा रहेको थियो । भारतका ११ प्रमुख अर्बपतिको आय महामारीमा जति बढ्यो, त्यसले स्वास्थ्य बजेट एक दशकलाई पुग्ने भारतीय सञ्चारमाध्यमको भनाइ छ ।