काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरूलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।
लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरूले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् । यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरूले रकम पठाउन सक्ने मेगाले जनाएको छ । नेपालीहरूले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।
‘मेगा रेमिट’ सेवालाई संसारका विभिन्न देशहरूमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो । बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने व्यवस्था मिलाइसकेको छ ।