काठमाडौं । सरकारले सबै हिमाली जिल्लामा नेपाल टेलिकमको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको नेतृत्व मंगलबार मन्त्रालयमै बोलाएर सरकारको नीति अनुसार सबै हिमाली जिल्लामा गुणस्तरीय इन्टरनेट सेवा सुरु गर्न निर्देशन दिएका हुन् । साथै मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई सबै जिल्लामा गुणस्तरीय बनाउन पनि सचेत गराएका छन् । जति गुनासो गरे पनि टेलिकमको सेवाको गुणस्तरीयतामा अझै पनि आमउपभोक्ताले प्रश्न गर्दै आएका छन् । मन्त्री गुरुङले टेलिकमको टावरलगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन पनि टेलिकमको नेतृत्वलाई निर्देशन दिएका छन् । सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भनेर भन्नुपर्ने अवस्था नआउने गरी काम पनि मन्त्री गुरुङले निर्देशन दिएका छन् । मन्त्री गुरुङले व्यापारिक फाईदा नहेरी टेलिकमलगायतका सूचना प्रविधिको विकासमा तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । “व्यापारमा फाईदा हुँदैन कि भनेर चुुप लागेर नबसौं,” ठेकेदार कम्पनीप्रति संकेत गर्दै मन्त्री गुरुङले भने, “ आफूले जिम्मा लिएको जिल्लामा समय अगावै काम सकौं । त्यसो हुन सकेमात्रै ‘डिजिटल नेपाल’ बनाउने परिकल्पना साकार हुने छ ।’ भेटघाट कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरेको सञ्चारमन्त्री गुरुङको सचिवालयले जारी गरेको प्रेसनोटमा जनाइएको छ । (आर्थिक दैनिकबाट)